काठमाडौं । नेपाली कांग्रेस सांसद डा.शेखर कोइरालाले आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै देशमा देखिएको अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले देखाएको इच्छाशक्तिले मात्रै केही नहुने बताएका छन् ।
उनले भने,’अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले इच्छा शक्तिको मात्र प्रदरश्न गरेर पुग्दैन त्यसका लागि सम्पूर्ण मन्त्रिमण्डलले नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ।’
समाजवाद भ्रष्टाचारको जगबाट नआउने बताउँदै उनले समसामयिक न्यायिक समाज बनाउन सम्यक विचार,व्यवहार र दृष्टिकोण चाहिने बताए। उनले साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए ।
विश्वबाट लगानीको अवसरहरू नेपाल भित्र्याएर बेरोजगारीलाई सम्बोधन गर्न सम्भव हुने उनको भनाइ छ । उनले विश्वव्यापी रुपमा बैंकिंग क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठिरहेको भन्दै हाम्रो देशले पनि युरोप र अमेरिकामा देखिएको जस्तो बैंकिंग संकटको सामना गर्नु नपोरस् भनी अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ विशेषज्ञको सल्लाहबाट अगाडि बढाउनुपर्ने बताए ।
राजनीतिक नेतृत्वमा आम जनताको विश्वास घटेपछि सबल अर्थतन्त्र धरासायी बन्न समय नलाग्ने उनले बताए। अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुलले विधिबाट नभइ दीर्घकालीन रुपमै निकास खोज्न सरकार जाग्नुपर्ने बताए ।