काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्पयाक्ट फण्डले संयुक्त रुपमा दुई अर्ब लगानी गरेका छन् । ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गरेको सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डले ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी गरेका हुन ।
वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट यसअघि सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको लगानी भित्र्याइसकेको थियो ।
यसअघिको लगानी र हालको लगानी गरी वल्र्डलिंकमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको विदेशी लगानी भित्रिएको छ । जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताएका छन् ।
लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा वल्र्डलिंक प्रतिबद्ध रहेको बताउँदै उनले विदेशी लगानी भित्रिनुमा कम्पनीको २७ वर्षको समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम भएको बताएका छन् ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रियस्तरको कम्पनीमा रूपान्तरण गर्ने लक्ष्य राखेको अग्रवालले बताएका छन् ।
कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको उनले बताएका छन् ।
कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता रहेको बताइएको छ ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारलाई गति दिन ठूलो सहयोग पुगेको अध्यक्ष अग्रवालले बताएका छन् ।
वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने तथा गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने उनले बताएका छन् ।
कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले वर्ल्डलिंकका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीको सेवा विस्तार र प्रभावबाट प्रभावित भइरहेको बताएका छन् ।
आफूहरुको लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्ने उनले बताएका छन् ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वर्ल्डलिंकलाई गरेको सहयोग र सहकार्यले आफू गौरवान्वित भएको बताएकी छिन् ।
डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईले छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका डिजिटल उद्योग रहेको बताएका छन् । आफूहरुले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको उल्लेख गर्दै उनले एआई सेवाहरुमा मात्र ५ हजारभन्दा बढी नेपालीको लागि गुणस्तरीय रोजगारी रहेको बताएका छन् ।
उनले भने ‘यी कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ ।’