काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा बिभिन्न जातीय संघसंस्थाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदेश १ को कोशी नाम खारेज गर्नुपर्ने र पहिचानको आधारमा पुनः नामाङ्करण गर्नुपर्ने भन्दै लिम्वुवान किरात संयुक्त संघर्ष समिति, किरात राई यायोक्खा, नेपाल मंगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगाएतले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनमा सहभागीहरुले प्रदेश १ को नाम किराँत, लिम्बुवान शेर्पालुङ नामाकरण गर, पहिचालबादीहरु एक होऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । मगर संघको सहअध्यक्ष गंगा बहादुर थापा मगरले प्रदेश १ को नामाङ्करण पहिचानका आधारमा हुनुपर्ने बताएका छन् । उनले पहिचानका आधारमा प्रदेशको नामाङ्करण नभएसम्म आन्दोलन जारी रहने बताए ।
जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरुले आइतबार कोशी प्रदेश बन्द गराएका छन् । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।