कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन ।
प्रदेशसभा वैठक अघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास गरिरहेका छन् । शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेबारे दुई धार देखिएको थियो । बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी पहल गर्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्र लेखेको छ।
चुनाव अघिको गठबन्धनबाट खगराज भट्ट सुदूरपश्चिमका मुख्यमन्त्रीका प्रबल दाबेदार थिए । तर चुनाव पछि गठबन्धन भत्किएपछि उनले मुख्यमन्त्री पाएनन् । तत्कालीन एमाले नेतृत्वको गठबन्धनको भागबण्डामा सुदूरपश्चिम एमालेको भागमा परेको थियो ।
नयाँ परिस्थितिमा माओवादी केन्द्रले मुख्यमन्त्री आलोपालो हुनुपर्ने र मन्त्रालयको भागवण्डा न्यायसंगत हुनुपर्ने माग गरेको छ । दलका नेता भट्टले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने भन्दै सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति हुनुपर्ने दलको वैठकबाट निर्णय गराएका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ। यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि २९ दिनमै पदमुक्त भएका थिए।
रावल पदमुक्त भएपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
शाहले एक महिनाभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् ।
गठबन्धनको अर्को घटक नागरिक उन्मुक्तिले विश्वासको मतका लागि पुरानै अडान राखेको छ । टीकापुर घटना दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका पार्टीका संरक्षक रेशम चौधरी रिहाइ उन्मुक्तिको ‘बटम लाइन’ छ।
उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने बताएकी छन् । उन्मुक्तिले यसअघि समर्थन गरेको एमाले नेतृत्वको सरकारलाई पनि विश्वासको मत दिएको थिएन ।
गठबन्धनकै दुई घटक माओवादी र उन्मुक्तिले विश्वासको मत नदिँदा कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढल्ने छ।
राष्ट्रपति चुनावले केन्द्रमा भएको समीकरण फेरवदलपछि बनेको आठ दलीय गठबन्धनसँग स्पष्ट बहुमत हुँदा पनि माओवादी र नागरिक उन्मुक्तिको अडानले शाह ढुक्क हुनसकेका छैनन् । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ ।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् । प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।