काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् ।
महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थीत गर्न नीतिगत निर्णय गर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारकातर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने उनले बताए ।
उनले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताएका छन् । उनले स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्हरु स्थापना गरिने बताए । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने उनले बताए ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेद अनुसन्धानको कार्यमा भारतले नेपालसंग सहकार्य गर्ने बताए । आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको उनले बताए ।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।



















