काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसलामा सर्वोच्चका दुई न्यायाशीध अडिग देखिएका छन् । सन्दीपको मुद्दाको फैसला लेख्दै गर्दा सामाजिक सञ्जालमा देखिएका अनेकथरी टिकाटिप्पणीलाई वेवास्ता गर्दै न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालले न्यायिक निर्णय दिएका छन् । सामाजिक सञ्जालमा देखिएको चर्को दबाबमा परे पनि उनीहरुले त्यसलाई रत्तिभर वास्ता नगरी सही एवं न्यायिक निर्णय गरेर न्यायालयप्रतिको विश्वासलाई उचो बनाएका छन् ।
यस मामिलामा न्यायाधीशद्वलाई के थाहा भने सन्दीपको पक्षमा फैसला गर्दा सामाजिक सञ्जालका ‘न्यायाधीश’हरु उनीहरुमाथि कसरी खनिन सक्छन् । फैसला नै नपढीकन ‘महिला न्यायाधीशले नै महिलामाथि अन्याय गरेको’ आरोप सपना मल्लमाथि लाग्ने डर त्यत्तिकै थियो । तैपनि सही निर्णय लिन अलिकति पनि विचलित भएनन् न्यायाधीशद्वय मल्ल र चुँडाल ।
यस अर्थमा न्यायाधीशहरु भनेका महिला वा पुरुष हुँदैनन् । उनीहरु केवल न्यायका पहरेदार हुन्छन् । उनीहरुले घटनाका तथ्यहरु हेरेर फैसला गर्ने हुन् । महिला न्यायाधीशले महिलाको र पुरुष न्यायाधीशले पुरुषकै पक्षमा फैसला गर्नुपर्ने हो भने सारा बहस-सुनुवाइ गर्नुपर्ने, प्रमाण जुटाउनुपर्ने आवश्यकतै रहँदैन थियो ।
न्यायाधीद्यमध्ये सपना महिला भएकाले महिलाकै पक्षमा फैसला गर्नुपर्छ भन्ने जुन प्रकारको दबाब सामाजिक सञ्जालमा आएको थियो त्यसको पर्वाह नगरी सत्यतथ्य निर्णय गरेर न्यायको अनुभूति दिलाउने काम भएको छ । त्यसबाट निर्दोष र प्रमाणित नहुने आरोप खण्डित भई सन्दिपले न्याय पाएका छन् । देशको एउटा होनहार युवा खेलाडी जसले राष्ट्रको नाम उचो राख्ने लक्ष्य लिएर अगाडि बढेको छ त्यसलाई प्रोत्साहित गर्नुपर्ने दायित्व हरेक नेपालीको हो । त्यसमाथि नियोजित आरोप परास्त भएको छ । जुन प्रकारले सन्दीपप्रति पूर्वाग्रही ढंगले मुद्दा दायर भएको थियो त्यसलाई न्यायाधीशद्वयले खण्डित गरिदिए । यस मानेमा न्यायाधीद्यप्रति सबै सारा नेपालीले साधुवाद गरेका छन् ।
सर्वोच्चले यस मुद्दामा गरेको फैसलामा केही नयाँ तथ्यहरु पेश गर्दै सन्दीपले किशोरीमाथि बलात्कार गरेको नहुन सक्ने स्पष्ट आशय व्यक्त गरेको छ ।
घटना भएको भनिएको भोलिपल्ट किशोरी सहजताका साथ सन्दीपकै गाडी चढेर आफ्नो होस्टलसम्म फर्किएको र रुममेटसँग ‘आफूले जीवनकै उत्कृष्ट दिन बिताएको’ अनुभव शेयर गरेको फैसलामा उल्लेख गरिएको छ । साथै, उनले दुई दिनपछि आफ्नो मोबाइलको म्यासेजमा ‘मैले अस्ति सन्दीप लामिछानेलाई हग गरेँ’ भन्दै खुशी साटेकी थिइन् । अनि सन्दीपको नामको जर्सी लगाएर हुटिङ गरेकी थिइन् । सन्दीपले सामाजिक सञ्जालबाट ब्लक गरिदिएपछि उनले घटनालाई बलात्कारतर्फ मोडेको हुन सक्ने सर्वोच्च अदालतको संकेत छ ।
यदि बलात्कार भएको हुन सक्नेमा अदालत सशंकित भएको भए सन्दीपलाई पक्राउ नै गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिने थियो । किनकि बलात्कारका मुद्दामा सामान्यतया धरौटीमा छोडिँदैन । सर्वोच्चले सन्दीपलाई थुनामा राख्नु नपर्ने निर्णयमात्र लिएन, उनीमाथि उच्च अदालतले विदेश भ्रमणमा लगाएको रोकसमेत फुकुवा गरिदियो । यसैले सर्वोच्चका न्यायमूर्तिहरु यो घटना बलात्कार थिएन भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।