काठमाडौं । सेयर बजारमा फेरि करेक्सन आएको छ । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०१९.९३ विन्दुमा अडिएको छ । आज सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेर ३८१.९४ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेको थियो । सो दिन १ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ ।
यसदिन २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर १ अर्ब ३८ करोडमा खरिदबिक्री भयो । नेप्से घटे पनि ३ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।
आँधिखोला लघुवित्त वित्तीय,आदर्श लघुवित्त वित्तीय र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा युनिभर्सल पावर शीर्षस्थानमा रह्यो ।
सो कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँको सेयर कारोबार भयो । कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य घट्यो भने ४ को मात्रै बढ्यो ।























