काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराइले प्रचण्ड उग्र वामपंथी र अवसरवादको खोजीमा दौडिरहेको बताएका छन् ।
नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार कालीकोट पुगेका भट्टराईले यस्तो बताएका हुन् ।
प्रचण्ड बामपंथी नभएर उग्र वामपंथी र अवसरवादको खोजीमा दौडिने पात्र भएको भट्टराईले आरोप लगाए ।
देशमा आर्थिक मन्दी भइरहेको बेला सरकार फेरवदल र पदमोहमा जानुले देशमा दुर्दशा लागेको उनले बताए । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ । अब देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ सरकारका गलत गतिविधिहरुको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरहने भट्टराईले बताएका हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनीतिलाई अस्थिरतातिर लैजान खाजेको आरोप समेत लगाएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्न प्रचण्डले समस्या पर्दा कम्युनिष्टसँग मिल्ने र सत्तामोहमा दक्षिणपंथीको पाउ पर्नुले देश गम्भीर दुर्घटनामा परेको भट्टराईको भनाइ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकारका लागि लड्दा नेकपा माओवादी र नेपाली कांग्रेसले महिलाको अधिकार जे छ उसैमा ठिक छ भन्दै सदनमा बोलेको अहिले पनि कानमा गुन्जिएको स्मरण गराए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहलले महिलालाई ३३ प्रतिशत अधिकार मिलेको पनि पार्टी सचिव भट्टराइले बताए । भट्टराईले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको बताउँदै प्रत्येक टोल टोलमा एमाले छाएको जानकारी गराए ।
संसदमा एक्लै लड्न र सरकार बनाउन नसक्ने भएपछि मुसा मार्ने बिरालो र रेबिज रोग लागेका स्यालहरुको समूह मिलेर बाघसँग लड्न नसक्ने चेतावनी समेत दिए । एमाले भनेको पार्टीहरुभित्रको बाघ रहेको भट्टराईको तर्क थियो । जनताको सामु कुन मुख लिएर भोट माग्न आउलान् भन्दै सरकार फेरबदल र पदमोहले जनता दिक्क भइसकेको पनि उनले बताएका छन् ।
दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको समेत उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रलाई इंगित गर्दै भट्टराईले माओवादीका हिंसात्मक गतिविधिले दुर्गम जिल्लाहरु झन दुर्गम बन्दै गएको बताए । कर्णाली राजमार्गको पीली सडक– खण्डमा सडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनै पनि क्रान्ति नभएको उल्लेख गरे ।
सशस्त्र द्धन्द्धमा कालीकोट मात्रै नभई रोल्पा, रुकुम, जाजरकोट जस्ता जिल्लाहरुमा पनी हिंसात्मक गतिविधीले बिकासमा बाधा उत्पन्न भएको भट्टराइको भनाई छ । कार्यक्रममा केन्द्रीय स्थायी कमिटी सदस्य यमलाल कँडेल, पोलिटब्युरो सदस्य गोरख बोगटी, नेकपा एमालेका केन्द्रिय सदस्य दल रावल लगायत नेकपा एमालेका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




















