काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारमा रहेका एमालेका ८ जना मन्त्रीले नै राजीनामा दिने भएका छन् ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएकाले समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय भएको बताएका छन् ।
राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुको सट्टा अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने प्रधानमन्त्री प्रचण्डको निर्णयबाट एमाले रुष्ट भएको थियो ।
राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढ्ने तयारी भएपनि एमाले सरकारबाट नहटे विनाविभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दाहालले दिएपछि सरकारबाट बाहिरिएको पौडेलले बताएका छन् ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन् ।
आफ्ना परराष्ट्रमन्त्रीलाई संयुक्त राष्ट्रसंघको महासभामा जान लाग्दा रोकिएपछि अपमान भएको भन्दै नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एमालेको संसदमा ७८ सांसद छन् ।
आइतबार राप्रपाले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।