काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।
एमाले संसदीय दलको बैठकबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’
नेम्वाङलाई समर्थन दिन संसदमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।
एमालेले कांग्रेसबाहेक संसदमा रहेका सबै दललाई पत्र पठाउने समेत बताएको थियो । कांग्रेसबाट उम्मेदवारी परेका कारण उसले कांग्रेसलाई पत्राचार नगर्ने भएको हो ।





















