काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो । सोही अनुसार कांग्रेसको बैठकले उम्मेदवार तय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एमाले नेतृत्व गठबन्धन तोडिएको छ । राष्ट्रपतिको निर्वाचनको लागि निर्वाचनपछि बनेकाे नयाँ सत्ता समीकरणबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।
१४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए । त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए ।
पौडेल नेपाली कांग्रेसबाट १७ पटक प्रधानमन्त्री पदमा पराजित भएका थिए । विसं २०६७ मा भएको चुनावमा उनी तत्कालीन एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र एमालेका झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । जसमा उनी १७ पटक पराजित भएका थिए ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।




















