काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता हुँदैछ । दलहरुबीच राष्ट्रपतिको उम्मेदवार चयनका लागि केही दिनदेखि म्याराथुन बैठकहरु भइरहेका छन् । तर कुनै सहमति हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् ।
कांग्रेस सभापति देउवासँग बिहान र एमाले अध्यक्ष ओलीसँग दिउँसो छलफल गरेपछि उनीहरुसँग कुराकानी अनुसार साँझ अन्य दलहरुसँग पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए । बिहिबार साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ ।
राष्ट्रपतिमा एमाले, कांग्रेस, नेकपा एस र लोसपाले दावी गर्दै आएका छन् भने उपराष्ट्रपति पद माओवादी र जसपाको दावी गरेको छ । नेकपा एमालेले पुस १० गतेको सहमति अनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने दावी गर्दै आएको छ भने प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति गर्ने भन्दै कुनै निर्णय गरेका छैनन् । सबै दललाई विभिन्न आश्वासन दिएर उनले अल्मल्याइरहेका छन् । दाहालको द्वैध चरित्रले राजनीतिक अस्थिरता निम्तिने छ भने माओवादीको राजनीतिमा दीर्घकालिन असर पुग्ने देखिन्छ । आफ्नो दललाई राष्ट्रपति दिए पाँच वर्ष नै प्रधानमन्त्री दिने कांग्रेसको आश्वासन र एमालेलाई सत्ता बाहिर राख्न दिएको भारतीय दवावले प्रचण्ड माओवादीको राजनीतिक भविष्य नै दाउमा राख्न तयार भएको देखिन्छ ।



















