काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल विश्व सम्बन्ध परिषद्को ७५औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले बदलिँदो परिवेशअनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । ‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ’, उहाँले भन्नुभयो ।
एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको छ भने अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको संकटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गर्नुभयो ।
उहाँले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले नेपालले सन्तुलित कूटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्द्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । सो अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गर्नुभएको थियो । त्यस अवसरमा कूटनीतिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै परिषद्ले डा थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो ।




















