काठमाडौं । प्रधानमन्त्री चयनका लागि बनेको गठवन्धन राष्ट्रपति पदको निर्वाचनमा आइपुग्दा भत्किने अवस्थामा पुगेको छ । पुस १० गते राष्ट्रपति एमालेलाई दिने सहमति गरेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले सहमति उल्लंघन गरेर कांग्रेससँग नजिकिएपछि एमाले नेतृत्वको सत्ता गठवन्धन दुई महिनामै भत्किने अवस्थामा पुगेको हो ।
एमालेको नेतृत्वमा सत्ता गठवन्धन बनेपछि संसदको ठूलो दल कांग्रेस विछिप्त बनेको थियो । त्यो भन्दा बढी भारतमा छटपटि बढेको थियो । चीन भने हर्षित देखिएको थियो ।
एमाले नेतृत्वको गठवन्धनबाट वामपन्थी सरकार बनेपछि कांग्रेसका नेताहरु विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेतृ आरजु राणा देउवा भारत गएका थिए । भारतकै सुझाव अनुसार कांग्रेसले पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको आँकलन गरिएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिएपछि भारतका विदेश सचिव नै नेपाल आएर सबै दललाई भेटेर फर्किएका छन् । उनले साना पार्टीलाई समेत भेटेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालसँग त उनले दिउँसो सामुहिक र राति गोप्य वार्ता समेत गरेका थिए ।
भारतीय विदेश सचिवको नेपाल भ्रमण पछि नै कांग्रेस नेतृत्वको गठवन्धन व्यूँताउने प्रयास भएको हो । कांग्रेसले राष्ट्रपति लिने, दाहाललाई चार वर्ष र माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने गरी नयाँ गठवन्धन बन्न लागेको स्रोतको दावी छ ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी भएको बताइएको छ ।
हिजो नेपाली कांग्रेस र माओवादी केन्द्र, कांग्रेस र नेकपा एसबीच छलफल भएको थियो । माओवादी र कांग्रेसको छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल हुन लागेको हो ।
नयाँ गठवन्धन बनाउने गृहकार्य अनुसार नै दाहालले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय दिएनन् भने सूदुरपश्चिमको एमाले नेतृत्वको सरकारलाई विश्वासको मत पाउनबाट रोक्न नागरिक उन्मुक्ति पार्टीका सांसदलाई पक्राउ गराएका थिए । सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकार बनेपछि सांसद अरुण चौधरीलाई आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा कांग्रेस नेतृत्वको गठवन्धन टुटेसँगै एमाले नेतृत्वमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भएर नयाँ गठवन्धन बनेको थियो । तर दुई महिनामै यो गठबन्धन भत्किएर कांग्रेस, माओवादी, नेकपा एस, जसपा र लोसपासहितको पाँच दलीय गठबन्धन बन्न लागेको छ ।
एमालेले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भएपनि गठवन्धनलाई निरन्तरता दिने, राजनीतिक स्थिरता कायम राख्ने, भारतीय दवावसँग नझुक्ने प्रयास गरेपनि प्रचण्ड त्यसमा सहमत हुन सकेका छैनन् । पुस १० गते फुटेको गठवन्धन भारतीय ग्लुले जोड्ने कसरत भइरहेको छ । अब एमाले, राप्रपा, रास्वपालगायतका दलहरु कसरी अघि बढ्छन् त्यो भने केही दिनमै थाहा हुनेछ ।
फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ ।




















