काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेताहरु यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् ।
धुम्बाराहीस्थित देउवा निवासमा जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल गरेर केहीबेर अघि बाहिरिएपछि अहिले एकीकृत समाजवादीका नेताहरु पुगेका छन् ।
पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष माधवकुमार नेपाल धुम्बाराहीस्थित देउवा निवासमा पुगेका हुन् ।
उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको छ ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला शीर्षनेताबीच छलफल भएको हो ।
बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई शीर्ष नेता लिएर देउवा भेट्न पुगेका छन् ।
एमाले अध्यक्ष ओलीले घुमाउरो पाराले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेको उनी स्वयमले पार्टी बैठकमा जानकारी गराएका थिए । यता काँग्रेस आफैँले राष्ट्रपतिको दाबेदारी गरिरहेको छ ।
दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरुबीच छलफल चलिरहेको छ ।




















