काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिंदै गइरहेका बेला उनीहरुबीच भएको छलफल भएको हो । पुस १० मा भएको सहमति अनुसार अघि बढ्दा कुनै समस्या थिएन । तर माओवादीले राष्ट्रपति पद एमालेले पाउने सहमति तोड्न खोजेपछि सत्ता गठवन्धन नै धरापमा परेको छ ।
राष्ट्रपति एमालेलाई दिने सहमति अनुसार प्रधानमन्त्री बनेका दाहालले ‘खोलो तरो लौरौ विर्सियो’ भन्ने उखान चरितार्थ गर्न खोजेपछि एमाले र माओवादीबीच दरार उत्पन्न भएको छ ।
विश्वासको मतका लागि सत्ता गठवन्धनकै पर्याप्त मत हुँदाहुँदै प्रधानमन्त्री दाहाल विश्वासको मत माग्दै विपक्षीको दैलोमा पुगेका थिए । उनले आफूलाई विश्वासको मत दिए गुन तिर्ने प्रतिवद्धता जनाएर नेपाली कांग्रेसको मत लिएका थिए । त्यसपछि ‘परिस्थिति फेरिएको’ भन्दै माओवादीले राष्ट्रिय सहमतिका नाममा कांग्रेसलाई राष्ट्रपति दिन खोजेका छन् ।
प्रधानमन्त्री बनाइदिनु पर्यो भन्दै ओली निवास बालकोटमा याचना गर्न पुगेका दाहाल प्रधानमन्त्री भएको दुई महिनामा आफूलाई सर्वेसर्वा ठान्न थालेका छन् । ३२ सिटे माओवादीका नेता दाहालले पुस २६ मा कांग्रेससहित २ सय ६७ सांसदबाट विश्वासको मत पाएपछि एकल वहुमत भए जसरी प्रस्तुत हुन थालेका छन् ।
पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन् । ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्याइ रहेका छन् ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिन थालेपछि नेताहरुले छलफल तीब्र बनाएका छन् । माओवादीले धोका दिने संकेत पाएपछि एमाले अध्यक्ष ओलीले वर्तमान सत्ता गठवन्धन पनि बच्ने र आफ्नो पार्टीको सिफारिसमा राष्ट्रपति बनाउने गरी विभिन्न नेताहरुसँग छलफल गरिरहेका छन् ।
भारतीय योजनामा एमालेलाई सत्ता बाहिर धकेल्ने रणनीतिमा रहेका दाहाललाई वामगठवन्धन कायम राख्न चिनियाँ दवाव पनि परिरहेको छ । ओलीसँगको भेट अघि आज बिहान प्रचण्डले चिनियाँ राजदूत छन् सङसँग भेटवार्ता गरेका थिए । केही दिनअघि चिनियाँ राजदूतले ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयासका लागि अस्थिर चरित्रका प्रचण्डलाई प्रयोग गरिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिने छ । त्यसैले फागुन २५ गते निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।



















