काठमाडौँ । ग्यास विस्फोटमा परी घाइते भइ भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिइएको मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले जनाएका छन् ।
मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अवस्थाको ‘अपडेट’ भन्दै न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ।’
नेता भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको अनुहार घट्दै गएको बताएका छन् ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएकी थिइन् । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । नेता भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत् मुम्बई लगिएको थियो ।


















