काठमाडौं । राष्ट्रपति चुनावका लागि मनोनयनको दिन नजिकिँदै जाँदा प्रमुख दलहरु कसलाई उम्मेदवार बनाउने भन्ने दौडधुपमा लागेका छन् । नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दावी गर्दै आएको छ भने नेकपा एमालेले पुस १० गतेको सहमति अनुसार सत्ता गठवन्धनबाट आफ्नो उम्मेदवार नै राष्ट्रपति हुने बताइरहेको छ ।
सत्ताको नेतृत्व गरेको नेकपा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन । आफ्नो दलसँग स्वार्थ मिल्ने दललाई सहयोग गर्ने भन्दै माओवादीको पदाधिकारी वैठकले त्यसको निर्णय गर्ने अधिकार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।
वर्तमान सत्ता गठवन्धन कायमै राखेर कांग्रेसलाई राष्ट्रपति बनाउन पाए आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने ठानेका दाहालले दुई वटा डुंगामा खुट्टा राखेका छन् । उनको यो दोधारे यात्रा अब केही दिन मात्र टिक्ने हो । उनले एमाले वा कांग्रेस रोज्नुपर्ने वाध्यता छ ।
कांग्रेसले दाहाललाई प्रधानमन्त्री नदिएर ठूलो गल्ती भएको भन्दै प्रायश्चित गर्दैै र अव त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएर राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न माओवादीसँग याचना गरिरहेको छ ।

कांग्रेसले आफ्नो दललाई राष्ट्रपतिमा सहयोग गरे दाहाललाई पाँच वर्षकै लागि प्रधानमन्त्रीमा सहयोग गर्ने आश्वासन दिएपछि एमालेसँग सहमति गरेर साँढे दुईका लागि प्रधानमन्त्री भएका दाहाल राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति उल्लंघन गर्ने खोजिरहेका छन् । भारतीय दवाव र कांग्रेसको आश्वासनप्रति दाहाल नतमस्तक हुँदै गएका छन् ।
हालै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विनायमोहन क्वात्राले प्रम दाहाललाई औपचारिक र अनौपचारिक भेटवार्ता गरेका थिए । गत मंगलबार दिउँसो औपचारिक भेटवार्ता गरेका क्यात्राले राति दाहालसँग गोप्य भेटवार्ता गरेका थिए । नेपालका प्रमुख पदमा वापमन्थी वर्चस्व भए चीन हावी हुनेमा भारत सशंकित छ । त्यसैले वामपन्थी गठवन्धन भत्काउन र सत्ताको नेतृत्वमा कांग्रेसलाई ल्याउन भारतले अनेकन षडयन्त्र, दवाव र आश्वासन दिएको छ ।
भारतको इशारा नमानेमा दाहाललाई भारतले भ्रमणको निम्तो समेत नदिने देखिएको छ । विगतमा नेपालमा प्रधानमन्त्री हुने वित्तिकै भारतले भ्रमणको निम्तो पठाउने र पहिलो भ्रमण भारत नै हुने गरेको थियो । तर यसपटक दाहाललाई विदेशमन्त्री नेपाल आउँदा पनि भ्रमणको निम्तो दिएका छैनन् भने भारतीय प्रधानमन्त्रीले ट्वीटर र पत्र पठाएर शुभकामना दिएपनि यसअघि जस्तो फोन गरेर वधाई दिएनन् । भारतको ‘कालोसुचि’मा पर्ने डरले पनि दाहालले राष्ट्रिय सहमतिका नाममा कांग्रेसलाई राष्ट्रपति बनाउन खोजेको राजनीतिक विश्लेषकहरुको तर्क छ । नत्र कांग्रेसबाट पाएको धोका एक महिनामै विर्सिने थिएनन् दाहालले ।
कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै उपयुक्त हुने एमालेका अन्य पदाधिकारीहरुको पनि राय छ ।
कांग्रेसले पुस २६ गते थापेको ढोक्सामा राष्ट्रपति पर्ने र वर्तमान सत्ता गठवन्धन नै धरापमा पर्ने संकेत पाएपछि एमालेले अन्य दलसँग सहकार्यका लागि छलफल गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको स्रोतको दावी छ ।
कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै उपयुक्त हुने एमालेका अन्य पदाधिकारीहरुको पनि राय छ ।
पार्टी एकता गरेर अघि बढ्दा संसदको ठूलो पार्टी बन्न पनि सकिने र वामपन्थी नै राष्ट्रपति हुने भन्दै दुवै दलका नेताहरु यसमा सकारात्मक भएको पाइएको छ । ठूलो पार्टी हुँदा संविधानको धारा ७६ (३) को सरकार बनाउनु पर्दा पनि आफ्नो नेतृत्वमा सरकार बनाउन सजिलो हुने एमालेका नेताहरुले बताएका छन् । प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन् । एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको नेकपा एस स्रोतको भनाइ छ। राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार रहेको नेता नेपालले बताएका छन् । एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने अपेक्षा उनको छ ।
राष्ट्रिय सहमतिका नाममा कांग्रेसलाई राष्ट्रपति सुम्पिन तयार प्रचण्डलाई दवावमा राख्न पनि एमालेले नेता नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र त्यो सम्भव नभए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अघि सार्न सक्ने संकेतहरु देखिएका छन् ।
नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाएका थिए । ओली र नेपालबीच लामो समयदेखि कटुता रहँदै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल पुस १० को सहमतिबाट टाढिँदै कांग्रेससँग नजिक हुन थालेपछि ओली र नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच पार्टी एकता तत्काल सम्भव नभए वाम गठबन्धनबाट राष्ट्रपति बाहिर जान दिन नहुने विषयमा भने एकत रहेको स्रोतको दावी छ ।
नेपाल र दाहालबीच पनि सोमबार नै भेट भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासहित नेतासँग आइतबार साँझ दाहालको भेट भएको थियो । उनले कांग्रेस नेतासँग पनि एमालेले नेपालको नाम प्रस्ताव गर्न सक्ने संकेत गरेका थिए ।

एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ओली र नेपालबीचको भेट अर्थपूर्ण रहेको बताएका छन् । दुई वामपन्थी नेताबीच भेटघाट हुनु सकारात्मक भएको गुरुङले बताएका छन् । गठवन्धन भत्काउने खेल भए पनि १० गतेको सहमति आजसम्म नभत्किएको वताउँदै उनले त्यो सहमतिअनुसार एमालेकै प्रस्तावित उम्मेदवार राष्ट्रपति हुने दावी गरेका छन् ।
सोमवार साँझ नेकपा एसका अध्यक्ष नेपाल र एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भैरहवामा वार्ता भएको स्रोतको दावी छ । अध्यक्ष नेपाल नेता मेटमणि चौधरीसहित भैरहवा पुगेका थिए । उनीहरुबीच पनि छिट्टै पार्टी एकताको घोषणा गर्ने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बनाउने बारेमा छलफल भएको बताइएको छ ।
वर्तमान गठवन्धन भत्काएर राष्ट्रपति लिन सकेमा कांग्रेसका लागि ठूलो सफलता हुनेछ भने देशका लागि घातक । गठवन्धन भत्किएमा दाहाललाई दिएको समर्थन एमालेले फिर्ता लिने छ । त्यसपछि दाहालले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । दाहाललाई नचाहिएका बेला दिएको समर्थन कांग्रेसले चाहिएका बेला दिने छैन । दाहाल नेतृत्वको सरकार ढल्ने छ । त्यसपछि संविधानको धारा ७६ (३) को सरकार बन्ने अवस्था आउँछ । त्यो अवस्थामा संसदको सवैभन्दा ठूलो दलको संसदीय दलको नेता भएका कारण शेरबहादुर देउवा स्वतः प्रधानमन्त्रीमा नियुक्त हुने छन् । उनले विश्वासको मत आर्जन गर्न सके कांग्रेसलाई फाइदा होला । नत्र त्यसपछि बढ्ने राजनीतिक अस्थिरताले मुलुकलाई ठूलो घाटा पुग्ने छ । मध्यावधि निर्वाचन गराउनुपर्ने अवस्था आएमा मुलुकले ठूलो आर्थिक भार बोक्नुपर्ने हुन्छ । त्यसबेला अस्थिरताको भारीले थिचिने कांग्रेस र एमाले पार्टीहरु जसोतसो उठ्न सक्लान् तर माओवादी भने उठ्न मुस्किल पर्ने छ ।




















