काठमाडौं । माओवादी केन्द्रले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएको र कुनै व्यक्तिका विषयमा छलफल नभएको स्पष्ट पारे। ‘हामीले कुनै व्यक्तिका विषयमा छलफल गरेनौं। राष्ट्रिय सहमतिकै खोजी गर्नेमा सहमत भयौं,’ उनले भने ।
कहिलेसम्म राष्ट्रिय सहमतिको खोजी हुन्छ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले १३ गते मनोनयन दर्ता रहेकाले १२ गतेसम्म अवश्य सहमति हुने बताए।
उनले संविधानको रक्षाका लागि नै माओवादीले राष्ट्रिय सहमति खोजेको बताए। यद्यपि बैठक अगाडि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भएको छलफलबारे उनी केही बताउन चाहेनन् ।




















