काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ लगाएतले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले बिमानस्थलका समस्याहरु अध्यागमले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको रिपोर्ट आउने भन्दै असन्तुष्टि जनाएका छन् ।
अहिले मोवाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीति बिपरित अध्यागमनले नियन्त्रयमा लिने काम गरेको उनको भनाइ छ । उनले बिमानस्थलको सर्भर डाउन हुदा हजारौ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताएका छन् ।
त्यस्तै मन्त्री किरातीले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने र केहि प्रक्रियागत कारणले ढिलाई भइरहेको धारणा राखेका छन् । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिएका छन् ।
उनले पर्यटनसँग उत्पादन जोड्नुपर्ने भन्दै मन्त्रालयले छिट्टै सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवद्र्धनको रणनीति तयार गरिने उल्लेख गरेका छन् ।