काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो एक महिनाको तलब वापतको रकम साम्दे शेर्पा अक्षयकोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री किराँतीले लोसारको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको गुथुक साँझ तथा साम्देन शेर्पा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अक्षयकोषमा सहयोग गर्ने नीति नेपाल सरकारको नभए पनि सुप्रसिद्ध हाँस्यकलाकार साम्दे शेर्पाको सम्मानस्वरुप आफ्नो एक महिनाको तलब वापतको रकम अक्षयकोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले २०७२ सालदेखि सुप्रसिद्ध हाँस्यकलाकार साम्दे शेर्पाको सम्मानमा साम्दे शेर्पा अक्षकोष स्थापना गरेर कोषबाट कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई हरेक वर्ष लोसारको अवसरमा सम्मान गर्ने गरिएको संस्थाका महासचिव छोटी शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार यस वर्षको साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेललाई प्रदान गरिएको छ । साम्दे शेर्पा प्रतिभा पुरस्कारबाट कलाकार सोबिता गुरुङ सम्मानित हुनुभएको छ भने साम्दे शेर्पा स्मृति पुरस्कार डिजे तेन्जीङ शेर्पालाई प्रदान गरिएको केन्द्रका कार्यवाहक अध्यक्ष दावा छिरी शेर्पाले जानकारी दिए ।
पर्यटनमन्त्री किराँतीले हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले ग्याल्पो लोसार २१५० औँ क्ष्यू मो ह्ये लो (खरायो वर्ष) को अवसरमा राजधानीमा आयोजित लोसार गुथुक साँझ कार्यक्रममा पुरस्कार वितरण गरेका हुन् । ।
वरिष्ठ हाँस्यकलाकार पौडेललाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगद, ट्रफी र प्रमाणपत्र छ भने अन्यलाई १० हजार १ सय ११ रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा पौडेलले राज्यले साम्दे जस्तो प्रतिभाशाली कलाकारको विषयमा बेवास्ता गरेको भन्दै गुनासो गर्नुभएको थियो ।
को हुन् साम्दे शेर्पा ?
नेपालको स्ट्यान्डअप कमेडीको जरा गाड्ने कलाकार हुन् साम्दे शेर्पा । त्यसअगाडि नेपालमा एक्लै मञ्चमा उभिएर दर्शकलाई हसाइरहने कर्म र कलाकार खास थिएनन् ।
हास्यकलाकारका रुपमा शेर्पाले थुप्रै स्टेज शो लगायत ‘खाङग्री, ‘मुक्तिदाता’ जस्ता फिल्ममा अभिनय गर्नु भएको थियो । शेर्पा हाँस्यव्यंग्य क्षेत्रमा सुप्रसिद्ध मात्र होइन एकछत्र राज गरेका थिए । हजारौँलाई हसाउने साम्दे अमेरिकबाट फर्किने क्रममा बेपत्ता भएका थिए । साम्देको जीवनको अन्त्य भने अझै रहस्यमै रहेको छ ।























