काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।
आजको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल हुने माओवादी केन्द्रका स्थायी समिती सदस्य मातृकाप्रसाद यादवले जानकारी दिएका छन् ।
पुस १० मा सात दलीय गठबन्धन बन्दा राष्ट्रपति एमालेलाई दिने समझदारी भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि विश्वासको मत दिएपछि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन् ।
राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीको अडान, पूर्वसहमति अनुसार एमालेले राष्ट्रपति पाउनु पर्ने एमालेको दावी र संसद्को पहिलो दलको नाताले पनि आफूहरुले राष्ट्रपति पाउनु पर्ने कांग्रेसको माग छ । जसले गर्दा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने सम्भावना छैन ।
राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएमा निर्णायक माओवादी हुनेछ । माओवादीले वर्तमान गठवन्धनलाई वचाएर अघि बढ्छ वा निर्वाचन अघिको गठवन्धन व्यूँँताउँछ, त्यो अबको केही दिनमा प्रष्ट हुनेछ ।
एमालेसँग आधाआधा कार्यकाल प्रधानमन्त्री हुने सहमति अनुसार पहिलो चरणमा प्रधानमन्त्री भएका प्रचण्डलाई कांग्रेसले आफूलाई राष्ट्रपति दिए पाँच वर्षकै लागि दाहाललाई प्रधानमन्त्री दिने आश्वासन दिएको छ ।
निर्वाचनअघिको कांग्रेस गठवन्धन व्यूँताउन देशीविदेशी शक्तिहरु सक्रिय छन् । विशेष गरेर एमाले सत्तामा रहँदा आफ्ना स्वार्थ पूरा गर्न नसकिने भारतीय बुझाइ छ । राष्ट्रपति निर्वाचनको वहानामा एमाले नेतृत्वको सत्ता गठवन्धन भत्काउने षडयन्त्र भारतकै इशारामा भइरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
केही दिन दुई दिने नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विनायमोहन क्यात्राले पुष्पकमल दाहालसँग औपचारिक र अनौपचारिक भेटवार्ता गरेका थिए । दिउँसो दाहालसँग औपचारिक भेटवार्ता गरेका उनले अन्य दलका नेताहरुसँगको भेटवार्ता पछि राति पुनः दाहालसँग गोप्य वार्ता गरेका थिए ।
क्यात्राको भ्रमण पछि नै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठवन्धन यही फागुन १० गते भित्रमा भत्किने दावी गरेका थिए ।
आइतबार कांग्रेसका महामन्त्री थापा र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापाहरु बालुवाटार पुगेका थिए ।
उनीहरुले राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न औपचारिक प्रस्ताव गरेका छन् । दाहालले आफ्नो पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । तर माओवादीको आज बस्ने पदाधिकारी वैठकले राष्ट्रपति उम्मेदवारका विषयमा प्रष्ट निर्णय गर्ने सम्भावना नरहेको एक नेताले बताएका छन् । आजको वैठकले सर्वदलीय वैठक गरेर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पुरानै निर्णयलाई निरन्तरता दिने आँकलन गरिएको छ ।



















