काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको टिप्पणी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताए ।
‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोश आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’, उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रले हिजो ७३ औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै नेपालको भविष्यप्रति आफूलाई चिन्ता लागेको बताएका थिए । उनले राजनीतिक दलहरुलाई राजसंस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका थिए ।



















