काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रतिनिधिसभाका सभामुख घिमिरे पनि अस्पताल पुगेर सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी बुधबार राति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
राति नै कीर्तिपुर अस्पतालमा लगिएका उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।



















