काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने- ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सवल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ ? भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ ।’
यस्तै राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’
बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको बताएका थिए । साथै साधनस्रोत र पर्याप्त बजेटका लागि सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानवअधिकार आयोगका निम्ति आवश्य ऐन र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई उनीहरूले आग्रह गरेका थिए ।