काठमाडौँ । संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ तीन वटा सरकार फेरिएपछि आज हुन लागेको हो ।
ओली नेतृत्वको सरकारपछि शेरबहादुर देउवा र निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको सरकार निर्माण भइसकेको छ।
पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले गत ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषद्को बैठक बोलाएको, गणपूरक सङ्ख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरूको जबरजस्ती नियुक्ति गरिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।




















