काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।
मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नेपालमा अन्य उद्योगहरु भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे । उनले मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवद्र्धन र विकसित गर्न आवश्यक रहेको बताए ।
उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे ।
उनले सबै नेपालीहरुको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताए । उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजि गर्नु आवश्यक रहेको बताए । उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवद्र्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।
प्रधानमन्त्री दाहालले घरेलु उत्पादनलाई प्रवद्र्धन गर्न ऐनको अभावले पनि अफ्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताए । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय संकट देखिएको बताए । उनले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको बताए । उनले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु,घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गरे ।
उनले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्याधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताए । प्रधानमन्त्री दाहालले लघु,घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नविकरण गरी थप पुन कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत,सोच,व्यवहारीक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए । उनले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताए ।
























