पाल्पा । प्रणय दिवसको अवसर पारी तानसेन नगरपालिकाले आज ‘रानीमहल’मा विशेष कार्यक्रम गर्दै छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । प्रेम दिवसको अवसरमा प्रेमको प्रतीक रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फुल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमिति मार्फत् युगल जोडीहरूको भव्य स्वागतको तयारी गरेको छ । तानसेन नगरपालिकाको स्वामित्वमा रहेको रानी महललाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको निधनपछि भावबिहोल भई रानीको सम्झनामा वि. सं १९५० मा रानी महलको शिलान्यास गरि चार वर्षमा रानी महलको निमार्ण सम्पन्न गराएका थिए । राजा र रानीको प्रेमको प्रतिको रुपमा निमार्ण गरिएको रानी महललाई अहिले पनि प्रेमको स्वरूपमा हेरिने गरिन्छ ।
आज रानीमहल क्षेत्रमा हजारै प्रेमील जोडीहरू प्रेम साटासाट गर्न र आफ्नो प्रेम सम्बन्ध दिगो बनाउन पुग्ने गर्दछन् । राजा र रानीको जस्तै प्रेमील जोडीको रुपमा हेर्न चाहने जोडीहरू आजको दिन रानीमहल पुग्ने गर्दछन् ।
प्रणय दिवसका अवसरमा देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरू आज प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ।