काठमाडौँ । आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गरिरहेको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मजदुर र व्यवसायीसँग वार्ता भइरहेको छ ।
ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका मजदुरहरुले आज उपत्यकामा यातायात ठप्प पारेका छन् ।
सोमबार दिनभर नयाँ बसपार्क क्षेत्रमा मजदुरहरूको आन्दोलनले उग्र रुप लिएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । भने सो क्षेत्रका केही पसलहरु तोडफोड र लुटपाट समेत भएको थियो ।