रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० भित्र अहिलेको सत्ता गठबन्धन भत्किने बताएका छन् ।
फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने थापाले दाबी गरे ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने- ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं।’
निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने उनको भनाइ थियो ।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेका कारण पछि आएर तलमाथि गर्ने अधिकार कसैलाई नभएको उनले दावी गरे । व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको उनको भनाइ छ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने उनले दाबी गरे । महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने समेत बताए ।
महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको बताए ।




















