काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं ओर्लेका हुन् ।
नेपालका लागि विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यसूची तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।




















