काठमाडौँ । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदैछन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका क्वात्राले आफ्नो दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायतसँग भेटघाट गर्ने छन् ।
आज र भोलि उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।
आज बिहान १०:३० मा काठमाडौँ उत्रने भारतीय विदेश सचिव क्ववात्रा नेपाल भारत सचिव स्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुने छन् । सो छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजना गरिएको ‘लन्च’ कार्यक्रममा सहभागी हुने छन् । परराष्ट्र सचिवले दिने लन्चपछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग द्वि–पक्षीय भेटघाट गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण कार्यक्रम रहेको छ । आज नै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट्ने कार्यक्रम तय भएको छ ।
विदेश सचिव क्ववत्राले मङ्गलवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बताइएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन नजिकिएको र दलहरुबीच राष्ट्रपतिको उम्मेदवारलाई लिएर वहस भइरहेका बेला नेपालमा राजदूत भइसकेका भारतीय विदेश सचिव क्वात्राको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफू अनुकुलको सरकार बनाउन असफल भारतले राष्ट्रपति निर्वाचनमा चासो दिएको र यो भ्रमणको मुख्य उद्देश्य त्यसमै केन्द्रित भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
भारतकै इशारामा नेपाली कांग्रेसले पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिएको र भारतकै दवावमा दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका नाममा पूर्वसहमति उल्लंघन गर्न खोजेको टिप्पणी भइरहेको छ ।



















