काठमाडौं । नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारवाजी हुनु नियतबश भएको बताएका छन् ।
शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट चिकित्सक घाइते भएकोप्रति रिजालले राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दवाव दिन सुझाव दिएका छन् ।
सवारी उल्लंघन भएको भन्दै प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए । उक्त घटनापछि त्यसको विपक्षमा सामाजिक सञ्जाललगायत सडकमा समेत विरोध भइरहेको छ ।
यसै विषयलाई लिएर नेता रिजालले यस घटनामा राष्ट्रपतिको शान्ति–सुरक्षा र प्रोटोकल जस्ता विषय सरकारले निर्धारण गर्ने गरेको र त्यसको सुधारका लागि सरकार नै जिम्मेवारी हुनुपर्ने बताए ।
सामाजिक सञ्जालमा नेता रिजालले लेखेका छन्–
‘राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारवाजी हुनु नियतबश छ । किनभने, शान्ति–सुरक्षा, प्रोटोकल जस्ता विषय विल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो । यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दवाव दिनुपर्छ ।’




















