काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् ।
शुक्रवार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् । उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए ।
उनले लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भिर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए । उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भएपनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए ।
अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए ।
उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे । उनले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । उनले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गरे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए ।
त्यस्तै,नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । उनले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको बताए । उनले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए ।
उनले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । उनले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गरे । उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको बताए ।