काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रवन्धक ठाकुरले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरवेजसँग करोडौं घुस लिने गरेकाले निलम्वन गरिएको बताए । यस्तै उनले आफूले कसैको एक पैसा पनि नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।
पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने मन्त्री किराँतीको भनाइ छ । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही पनि चल्न नसक्ने बताएका थिए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।
यस्तै पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको पनि उनले बताए । प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किराँतीले बताए । यस क्रममा मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पनि पर्यटन बोर्डलाई निर्देशन दिएका थिए ।