धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।
शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी) बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको जनाइएको छ । तर ककस्लाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने टुङ्गो लाग्न बाँकी छ ।
मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।