काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।
सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । मुख्यमन्त्रीमा नियुक्त शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् । तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।