काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
एमाले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडानमा छ । तर प्रधानमन्त्री दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका छन् भने रास्वपालाई गृह मन्त्रालय दिन तयार नहुँदा रास्वपा सरकारबाट बाहिरी सकेको छ ।
पुस १० गते भएको सहमति अनुसार राष्ट्रपति आफ्नो पार्टीको उम्मेदवारले पाउनुपर्ने ओलीको अडान छ भने प्रचण्ड भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउने योजनामा छन् । सकेसम्म राष्ट्रिय सहमतिका नाममा कांग्रेसलाई राष्ट्रपति दिएर शक्ति सन्तुलनका साथै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोजेका छन् । कांग्रेसको उम्मेदवारलाई एमालेले नस्वीकारे आफू र आफ्नो पार्टी निकट व्यक्तिलाई अघि सार्ने रणनीति पनि प्रधानमन्त्री दाहालको छ ।
गृहमन्त्रालयको विवादले गठवन्धन दलहरुबीच बढेको दरार राष्ट्रपति निर्वाचनसम्म पुग्दा विस्फोट हुन सक्ने आँकलन पनि राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।



















