काठमाडौँ । टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ७ हजार ८ सयभन्दा बढी पुगेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा १ हजार ९३२ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।
दक्षिणी टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ । उद्धारकर्ताहरूले पीडितहरूलाई बचाउन सक्दो प्रयास गरिरहेको समाचारमा उल्लेख गरिएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद समेत दिएको समाचारहरुमा उल्लेख गरिएको छ।
यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी गराएका छन् ।
खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।
विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।


























