काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । करिब ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल,यमुना भट्टराई र शालिग्राम कोइरालाको संयु्क्त इजलासले यस्तो आदेश दिएको हो ।
अब म्यादपत्र गएपछि साक्षी अदालतमा हाजिर हुनेछन् । अदालतले उनीहरूको बकपत्र लिनेछ । बकपत्र लिएपछि पुन: पेसी तोकिनेछ । कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
कर फर्छ्यौट आयोगमा परेका निवेदनका आधारमा व्यापारीहरूलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएपछि अख्तियार अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो । सार्वजनिक पदमा रहँदा ४ करोड २९ लाख ५३ हजार एकसय २४ रूपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले २०७४ माघ १५ गते अर्को मु्द्दा दायर गरेको थियो ।