काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा बस्न नपाउँदा पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमालेका संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरेका छन् ।
मंसिर ४ को निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन नसकेपछि आफूले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर सरकार बनाएको बताए । यो सरकार बनेदेखि देशमा उत्साह जागेको बताउँदै ओलीले देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको बताएका छन् ।
अध्यक्ष ओलीले पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएर विचित्रको खेल खेलेको बताएका छन् ।
“कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन”, ओलीले भनेका छन्, “अहिले कांग्रेसले आफूलाई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानी बाहिरको माछा जस्तै भएको छ।”
लामो समयदेखि कुनै सरकार पाँच वर्ष टिक्न नसकेकाले बताउँदै ओलीले देशलाई अस्थिरतातिर धकेल्ने कोसिस नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् ।