काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
जबराको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज(आइतबार) बिहान साढे ६ बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । जबरा २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी जबरालाई गभर्नरको नियुक्ति दिएका थिए ।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका हुन् । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत उच्च पदमा रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा काम गरेका थिए । उनले गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए ।
भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न वास्तवमै निकै कठिन थियो । तर, उनले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरेर भारु १ सय रुपैयाँको एक सय ६० रुपैयाँ हुने गरी सटही दर निर्धारण गरेका थिए । त्यतिखेर राखिएको भारतीय रुपैयाँको विनियम दर अहिलेसम्म पनि कायम छ । उनको ९५ वर्षको उमेरमा निधन भएको हो ।