काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए । उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए । उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए ।
त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए । उनले पार्टी संगठन सदृढीकरणका लागि दुइ महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताए । यस अभियानमा चुनावी अन्तर्घात बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए ।
उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रालयबारे सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले समस्याको समाधान हुने बताए । प्रधानमन्त्रीले भने, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।”
गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।
पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । सोही प्रसङ्गमा प्रधानमन्त्रीले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।




















