कलैया । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने दाबी गरेका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।
थापाले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै भने, ‘एमालेका कोही नेताले खल्तीबाट निकालेको पात्रलाई यदि राष्ट्रपति बनाइयो भने संविधानका साथै लोकतन्त्र पनि दुर्घटनामा पर्ने निश्चित छ ।’
एमालेका नेताको खल्तीबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभई संविधानको परिकल्पना विपरीत कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए । उनले भने, ‘त्यही भएर मैले प्रधानमन्त्रीलाई भेटेरै भनेको छु एमालेका नेताले खल्तीबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाइयो भने अहिलेको संवैधानिक अभ्यासलाई डुबाउनेछ । किनकि विगतको अभ्यासले यसलाई पुष्टि नै गरिसकेको छ । त्यसकारण विगतको त्यो नियति दोहोर्याउने काम कदापि नगर्नु होला ।’
थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको पनि बताए । त्यसलाई विफल पार्न कांग्रेस लागेको उनले बताए ।
कांग्रेस एक पटक सरकारमा नजाँदैमा सबै बर्बाद भयो , पार्टी नै सक्कियो भन्ने जुन धारणा पार्टीभित्र बनाइँदै छ त्यो गलत भएको महामन्त्री थापाले बताए । उनले भने, ‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक होइन, यो कांग्रेसको संगठन सुदृढ र सबल बनाउने अवसर पनि हो हाम्रा लागि ।’
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकेलगत्तै आफूहरु हरेक वडा, पालिका र जिल्लामा पुग्ने, संगठनलाई सबल बनाउनतिर लाग्ने उनले बताए ।
अहिलेको शासन व्यवस्थाको प्रणाली उत्कृष्ट भए पनि यसमा भित्रिएका विकृतिका कारण जनतामा निराशा रहेको उनले बताए । उनले भने, ‘आम जनतामा चरम निराशा र असन्तुष्टि छ। त्यो कुनै पनि बखत विस्फोट हुन सक्छ। यसले कसलाई कहाँ पुर्याउनेछ त्यो भन्न सकिन्नँ।’




















