काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अदालतको फैसलाको पूर्णपाठ नआएसम्म धैर्यता राख्न रास्वपासंग आग्रह गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको हो ।
बैठकपछि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने दावी गरेका छन् । बाहिर चर्चा चलेजस्तो केही नहुने र आफुले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि नलिने बताएका छन् ।
त्यस्तै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले रास्वपाले धैयर्ता राख्नुपर्ने माओवादीको धारणा रहेको बताएका छन् । उनले अहिले गठबन्धनमा कुनै असर नपर्ने पनि बताए ।
प्रवक्ता महराले प्रचण्डको व्यस्तता र गृहकार्य गर्न बाँकी रहेकाले शुक्रबार बस्ने गरि स्थायी कमिटी बैठक सकिएको जानकारी दिएका छन् ।
यसअघि स्थायी कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने माओवादी तयारी थियो ।



















