काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्य पठाएको हो । जसअनुसार पेट्रोल र डिजेलको लागत प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा ४ रुपैयाँ ६० पैसा बढेको छ ।
कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई हवाई इन्धन ७ रुपैयाँ ८० पैसा महँगो बन्ने भएको छ । तेलको भाउ बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेको छ ।
भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ जसको आधारमा नेपाल आयल निगमले नेपाली बजारमा इन्धनको मूल्य घटबढ गर्ने गर्छ ।
निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य सूचीअनुसार १५ दिनमा निगमलाई ९ करोड १५ लाख रुपैयाँ घाटा हुनेछ । निगमले विगत चार महिना नाफा गरेको थियो।
‘चार महिनाको बीचमा हामीले सरकारको ऋण अंश कम गर्दै गएका छौं भने र भारतको वक्यौता पनि तिर्दै गएका थियौं,’ प्रवक्ता उपाध्यायले भने, ‘घाटामा गएसँगै निगम फेरि आर्थिक अवस्था जटिलतातर्फ उन्मुख भएको छ।’