काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बुधबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभामा रिक्त रहेको पदबारे संसद सचिवालयलाई जानकारी गराउने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली २०७५ नियम २१२ को (१)बमोजिम गराउनेछन् ।




















