काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबी गरेका छन् ।
एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबी गरे ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट गरे । उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताए । उनले विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आमअभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको बताए ।
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे । उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए ।
उनले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता भने अस्वाभाविक रहेको उल्लेख गरे ।