काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुनव्यवसायीहरुले बहस गरेका थिए।
लामिछानेका तर्फबाट ४ जना कानुनव्यवसायीले बहस गरेका जिए। कानुन व्यवसायी नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापानेले लामिछाने पक्षमा बहस गरेका थिए। यस्तै रिट निवेदकका तर्फबाट कानुनव्यवसायी सुरेन्द्र भण्डारी,रमन कर्ण, अनिता श्रेष्ठ,कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गरेका थिए।
मुद्दाको फैसला आजै आउन सक्ने रविको विपक्षमा बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् । उनले भने,’बहस सकियो। फैसला आजै आउने संभावना छ।’
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो । बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।
इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।
यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो । अधिवक्ता रविराज बसौला,युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।




















