काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको हो ।
बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।
यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो । अदालतले दिएको यसअघिको आदेशमा २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन भनिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भइसकेका बताइएको छ ।
बुधबारको बहसमा रिट निवेदकका तर्फबाट र रवि लामिछानेका कानुन व्यवसायीहरुले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले रवि नेपाली मूलका विदेशी नागरिक भएको जिकिर गरेका थिए ।
कानुनव्यवसायीहरूले लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको दावी गरेका छन् ।
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । मुद्दामा प्रमाणका आधारमा पक्ष,विपक्ष र सरकारी वकिलको बहसप सकिएपछि फैसला आउनेछ। सम्भवत: मुद्दाको फैसला आजै आउनसक्छ। यदि सर्वोच्चले लामिछानेले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको ठहर गरेमा उनको सांसद र मन्त्री पद दुवै खारेज हुनसक्छ ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।




















